
राजविराज – संघीय सरकारमा सहभागी चार दलले सप्तरीको सप्तकोसी नगरपालिकामा बिहीबार तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार पालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेको हो ।
सप्तकोसी नगरपालिकामा एमालेको तर्फबाट निर्वाचित उत्तमकुमार शर्मा नगरप्रमुख छन् । आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग राखी उक्त पार्टीका नेता/कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन् ।
यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो । सो समयभित्र माग पूरा नभएकाले तालाबन्दी गरेको संघर्ष समितिले जनाएको छ ।
विभिन्न दलको गठबन्धनले नगरपालिकामा सूचना माग गरेको र उनीहरूले भनेकै समयमा किन सूचना उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको नगरप्रमुख शर्माले बताए । उनले तालाबन्दी गर्ने दलका नेता/कार्यकर्तासित वार्ता गरी समस्याको निकास खोजिने बताए ।