
एजेन्सी – सडक फोहोर नियन्त्रण गर्न स्वीडेनको राजधानी स्टकहोम नजिक एउटा फर्मले एकदम अनौठो उपाय लगाएको छ ।
त्यहाँ भुइँमा फालिने चुरोटका खोस्टा उठाउन कागलाई नियुक्त गरिएको छ । नगरपालिकाले लागत कटौति नीति अन्र्तगत यस्तो गर्न लागेको बताएको छ ।
यसमा जङ्गली चराहरुले सडकबाट संकलन गर्ने प्रत्येक चुरोटको ठुटोका बदलामा थोरै खानेकुरा पाउँछन् ।
करभिड क्लिनिङ कम्पनीका संस्थापक क्रिस्टियन गन्थर भन्छन्, “यसमा चराहरु आफ्नो खुसीले सहभागी हुन्छन् । ”
‘किप क्लिन स्वीडेन फाउन्डेसन’ का अनुसार त्यहाँका सडकमा हरेक वर्ष १ अर्ब भन्दा बढी चुरोटका ठुटा फालिएका हुन्छन् । यो भनेको कूल फोहोरको ६२ प्रतिशत हो ।
अन्य अवस्थामा सडकको फोहोर सफा गर्नकै लागि सो क्षेत्रले १६ लाख पाउन्डसम्म खर्च गर्ने गरेको छ ।
गन्थरको प्रक्षेपण अनुसार यो तरिकाले सडकमा चुरोटका खोस्टा टिप्नेसँग सम्बन्धित खर्चलाई ७५ प्रतिशतले कटौति गर्न सकिनेछ । त्यसैले पनि सोदरताल्ये क्षेत्रले शहरभरि यो कार्यक्रम सञ्चालन गर्नु अगाडि स्टकहोमका स्क्वायरहरुमा यो पाइलट प्रोजेक्ट सुरु गरेको हो । यसमा फोहोरको प्रकार हेरेर चराहरुको स्वास्थ्य या तिनमा पर्न सक्ने असरलाई पनि ध्यानमा राखिएको छ ।
यसमा संलग्न न्यु केलडोनियन प्रजातिको काग सात वर्षे मान्छेको बच्चासँग तर्क गर्न सक्ने बराबर चलाख हुने रिसर्चले देखाएको छ । यसकारण पनि यो कामका लागि यही चरा सबैभन्दा उपयुक्त मानिएको हो ।
गन्थर भन्छन्, “उनीहरुलाई सिकाउन एकदम सजिलो हुन्छ । र यो प्रजातिले एक अर्काबाट पनि छिटै धेरै कुरा सिक्न सक्छन् ।
त्यस्तै उनीहरुले गलतीवश् फोहोर खाने जोखिम पनि एकदम कम हुन्छ ।
आजको दिनमा चुरोटको ठूटो उठाउँदाको खर्च प्रति चुरोट ८० स्विडीस ओर पर्दछ । तर कागले त्यसरी फोहोर टिप्दा यसमा केबल २० ओर मात्र लाग्छ । यसमा कागले जति धेरै चुरोटका ठुटा टिप्छ नगरपालिकाले त्यति नै बढी बचत गर्न सक्नेछ । ”
उनले थप भने, “यो वास्तवमा आश्चर्यको कुरा छ । किनकी जहाँ हामीले कागलाई चुरोटका ठुटा संकलन गर्न सिकायौँ यही कुरा सडकमा नफाल्न मान्छेलाई चाहिँ सिकाउन सकेका छैनौँ । त्यसैले यो एकदमै रोचक प्रसंग हो । ”