
काठमाडौँ – ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटाउने तयारी भएको छ । एनएमबी बैंक र रेमिट हाइड्रोबीच सो आयोजनामा लगानीसम्बन्धी एक सम्झौता भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) तथा रेमिट्यान्सकर्ताहरु हुन् ।
विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले रेमिट हाइड्रो कम्पनी संचालनमा आएको हो । एनएमबी बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह-वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्ने भएको छ ।
ताप्लेजुङस्थित घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने जानकारी गराइएको छ । लागत अन्य जलविद्युत् कम्पनीको तुलनामा महँगो देखिएको छ । प्रतिमेगावाट लागत २३ करोड ५४ लाखभन्दा बढी हुने देखिन्छ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।