
गलेश्वर – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा गत भदौ २० गतेदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् ।
दरखोलामा गत भदौमा आएको बाढीले बगाएको थियो । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको लघुजलविद्युत् परियोजना ६ महिनापछि पुन:सञ्चालनमा आएको हो । ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र कुलो पहिरोले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको थियो । लघुजलविद्युत् परियोजनाको संरचना मर्मतपछि सञ्चालन भएको हो । जलविद्युत् आयोजना पहिरोले बगाएपछि गाउँ अन्धकार बनेको थियो ।
परियोजना पुनःनिर्मााण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपैयाँ प्राप्त भएको परियोजना पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताए । गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको उनले बताए ।
बत्ती बलेपछि टुकीकोभरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिञ्किजा पुनमगरले बताए । विद्युत् सेवा सञ्चालन भएपछि गाउँमा रहेका कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योगका साथै विद्यार्थीको पठनपाठनमासमेत सहज भएको छ ।
२०७६ सालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख तीन हजार गरी एक करोड ७४ लाख रुपैयाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।