
सप्तरी – राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ ।
पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले भने सो आरोपलाई सुरुदेखि नै खण्डन गर्दै आइरहेको छ ।
युक्रेनको सीमामा हाल करिब १ लाख रुसी सैनिक तैनाथ रहेका छन् । यसले गर्दा युद्धको आशंका बढिरहेको छ । यसबीच अमेरिका र केही युरोपेली मुलुकले युक्रेनलाई समर्थन गरिरहेका छन् । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सीकले रुसविरुद्ध मद्दतका लागि तयार रहेकोमा पश्चिमी राष्ट्रहरूको तारिफ गरेका छन् ।