
सप्तरी – १ छत्यालकी ३७ वर्षीया जौमती नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन् । यसरी बिहानै गमगढी बजारतिर जानु उनको बाध्यता हो । उनलाई पनि अरु महिलाजस्तै केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने रहर नभएको होइन । तर, यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन् ।
उनी छायाँनाथ बजारमा कवाडी संकलनको काम गर्छिन् । यसैबाट आएको आम्दानीले उनको परिवार चलिरहेको छ । घरमा चलाउन आम्दानी गर्ने कोही नभएपछि उनी आफैँ यो काममा तम्सिएकी हुन् । जौमतिले यहीबाट आएको आम्दानीले आधा दर्जन छोराछोरी र श्रीमानको खर्च धानिरहेकी छिन् ।
कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन । उनी भन्छिन- ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’
कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन । उनी भन्छिन- ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’ उनले १०–१५ रुपैयाँमा कवाडी बेच्ने गर्छिन् । कमाइ थोरै भए पनि खटाइ धेरै हुने उनी बताउँछिन् ।
१५ वर्षदेखि उनले यो काम गर्दै आए पनि उनको जीवन र दैनिकी उस्तै छ । सामान्य साक्षरसमेत नभएका कारण उनले अन्य पेशा गर्न आँटसमेत नगरेको बताउँछिन् । उनी भन्छिन्, ‘भारत जाउ भने घरमा बालख छोराछोरी छन् ।’
फुर्सद भएका बेला उनले बजारका व्यापारीहरूले ल्याएको सिमेन्ट, चामल, नुनलगायत खाद्यान्न सामान ओसार्ने समेत गरेको बताउँछिन् । उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सीमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नुहुँदैन भन्छन् । तर, आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ ।’