
सप्तरी – अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न सक्ने बताएका छन् । जर्नेल मिलीले युक्रेन सीमामा एक लाख रुसी सेनाको उपस्थिति शीतयुद्धयताकै सबभन्दा ठूलो भएको र रुसी आक्रमणमा ठूलो संख्या हताहती हुन सक्ने जनाए ।
एउटा पत्रकार सम्मेलनमा बोल्दै मिलीले युक्रेनको सीमा क्षेत्रमा उपस्थित सेनाको संख्याले आक्रमण भएको खण्डमा परिणाम गम्भीर हुने बताएको दाबी गरे । उनी अमेरिकी राष्ट्रपति जो बाइडेनका सैन्य सल्लाहकार हुन् । ‘यदि रुसले आक्रमण गर्यो भने त्यो निकै ठूलो हुनेछ र ठूलो संख्यामा मानिसहरू मर्नेछन्,’ मिलीले भने ।
तर अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले कूटनीतिका माध्यमबाट अझ पनि द्वन्द्व रोक्न सकिने बताए । ‘युद्ध अपरिहार्य छैन । अझै पनि कूटनीतिका लागि ठाउँ छ,’ अस्टिनले भने । पुटिनले आफ्ना फौज फिर्ता लैजान आदेश दिन सक्ने उनको भनाइ छ ।
रुसले भने आफ्नो कुनै आक्रमणको योजना नरहेको बताउँदै आएको छ । अमेरिकालगायत पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएको सैन्य सहयोग आफ्ना लागि खतरा रहेको उसको भनाइ छ । रुसले युक्रेन नाटोको सदस्य बन्ने कुरामा आपत्ति जनाउँदै आएको छ । तर उसको माग अमेरिकाले अस्वीकार गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको आरोप लगाएका छन् । तर उनले केही गर्ने निर्णय गर्नुअघि अमेरिकी प्रतिक्रियाको राम्ररी अध्ययन गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पूर्वी युरोपमा नाटो उपस्थिति बलियो बनाउन छिट्टै सानो संख्यामा सैनिकहरू पठाउने बताइसकेका छन् । यद्यपि, बाइडेनले ती सैनिक कहाँ पठाइने भने जनाएनन् ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सीमा क्षेत्रमा रुसी सेनाको उपस्थितिका विषयमा आतंक सिर्जना नगर्न पश्चिमा देशलाई आग्रह गरेका छन् । रुसले आक्रमण गर्न लागेको चेतावनीले युक्रेनको अर्थतन्त्र जोखिममा परेको उनको भनाइ छ । गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखिएको उनको भनाइ छ ।