
सिमकोट – सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ।
कोरोना संक्रमणको त्रास बढिरहेका बेला त्यसबाट बच्नका लागि स्वास्थ्यकर्मीसहित हेल्थडेस्क स्थापना गरिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए।
कोरोना चेकजाँचका लागि उक्त हेल्थडेस्क स्थापना गरिएको हो। यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। हेल्थडेस्क स्थापनाले गत साउनयता ग्रीन जोनमा रहेको जिल्लालाई कोरोनाबाट जोगाउन सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे।
नेपालगंज र सुर्खेतबाट सिमकोट भित्रिने सबै यात्रुहरुको कोरोना परीक्षण गरेर पठाउने कार्य सुरु भएको छ। उनले अब चाँडै पैदल मार्गबाट जिल्ला भित्रिने दुई वटा नाका चंखेली गाउँपालिका– १ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापनाको तयारी भइरहेको बताए।