१८ बैशाख २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०२, २०७८

सप्तरी – संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको छ।

लुम्विनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेको दबाब, निर्देशन र ठाडो हस्तक्षेपमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोष भित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरिएको हो।

संसार वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य आफूले लुम्विनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेका थिए।

लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदा त्यहाँको महत्व र जग्गा प्राप्ती गर्ने बाटाहरू पहिल्याएका उनले अहिले आएर रिसोर्ट सञ्चालनको लागि दिने निर्णय गराउन सफल भएको लुम्बिनी विकास कोषले सेतोपाटीलाई बतायो।

संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामू प्रस्ताव गरेको छ।

जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरूयोजनामा चार विगाह क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउण्डमा आठ/नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ। तर संसारा वेलनेसले पेश गरेको प्रस्तावमा भने मेडिटेसन सञ्चालन गर्ने मेडिटेसनको लागि आउने पाहुनाको आवासको लागि रिसोर्ट सञ्चालन गर्ने उल्लेख गरिएको छ।

लुम्बिनी विकास गुरूयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको लागि उच्चस्तरीय आवासका लागि तीन वटा मात्रै होटल सञ्चालन गर्ने उल्लेख छ।

सोही अनुसार होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस यसअघि नै सञ्चालन भईसकेका छन्।

संसारा वेलनेसले तत्कालिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकालकै पालोमा लुम्बिनी ग्राममा रहेको क्याम्पियन ग्राउण्डभित्र रिसोर्ट सञ्चालन गर्ने प्रस्ताव पेश गरे पनि अगाडि बढ्न सकेको थिएन। तर गत असोजमा प्रेमकुमार आले मन्त्री बनेर आएपछि भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमार्फत मन्त्री आले समक्ष पुनः प्रस्ताव लगेर डेढ महिनामै उक्त जग्गा संसार वेलनेसलाई दिने निर्णय गरिएको स्रोतको दावी छ।

लुम्बिनी विकास कोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको थियो। ‘जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै आएको थियो।’ विकासकोषका एक सदस्यले भने।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट सञ्चालनको लागि दिन नहुने पक्षमा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी (भिक्षु मेत्तेय) रहेका थिए। श्रोतका अनुसार उक्त प्रस्तावलाई निर्णय गर्न लुम्विनी विकास कोषका पदाधिकारीले नमानेपछि मन्त्री आलेले विकास कोषका पदाधिकारीलाई राजीनामा गर्न समेत दबाब दिएका थिए।

लुम्बिनी विकास कोष भित्रको जग्गा गुरूयोजना विपरित रिसोर्ट सञ्चालनको लागि दिन अस्वीकार गरेपछि विकास कोषका पदाधिकारीसँग रिसाएका मन्त्री आलेले लुम्विनी गार्डेन फाउण्डेसनले गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति राख्न आयोजित कार्यक्रममै उनीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए।

‘जग्गाको विषयमा मन्त्रीज्यू पहिलेदेखि असन्तुष्ट हुनुहुन्थ्यो, अर्कैले आयोजना गरेको कार्यक्रममा उहाँलाई बोल्न नदिएपछि त्यो रिससमेत हामीमाथि पोख्नुभयो,’ विकासकोषका एक सदस्यले सेतोपाटीलाई भने।

बोल्न नपाएर रिसले चुर भएका मन्त्री आलेले तिमीहरूले राजीनामा दिए देउ, नदिए ठेगान लगाउँछु भन्दै सार्वजनिक रुपमा बोलेका थिए।

लुम्विनी विकास गुरुयोजनाभन्दा बाहिर गएर कुनै पनि संरचना निर्माण गर्न नहुने भन्दै अडान राख्दै आएका उपाध्यक्ष त्रिपाठीले मन्त्रीको दबाब थेग्न नसकेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेर आफ्नो अवधी सकिन लागेकोले मन्त्रीलाई मनाउन आग्रह समेत गरेका थिए।

तर रिसोर्टका लागि विकास कोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आएका मेत्तेयलाई नै नबोलाई बसेको विकास कोषका पदाधिकारी/सदस्यको गत मंसिर ११ गतेको बैठकले रिसोर्ट सञ्चालनको लागि जग्गा दिने निर्णय गरेको हो।

सोही जग्गाकै विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो एक महिना यता उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको उनी निकट स्रोतले जानकारी दियो। ‘जग्गाको विषयमा तीन महिना पहिलेदेखि नै मन्त्रीज्यू र उपाध्यक्षज्यूको बिचमा विवाद बढिरहेको थियो, मन्त्रीज्यूले त उपाध्यक्षज्यूलाई हटाएरै भए पनि जग्गा दिने भनेपछि उपाध्यक्ष ज्यूलाई बैठकमा समेत बोलाउन छोडिएको थियो, अहिले त उहाँ नेपाल बाहिर जानु भएको छ,’ त्रिपाठी निकट स्रोतले भन्यो।

यसैबीच लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले भने उपाध्यक्षलाई बैठकमा नबोलाएको नभई उनी आफैं उपस्थित नभएको दाबी गरे। ‘बैठकमै नबोलाएको भन्न मिल्दैन, बैठकमा म आफैंले बोलाएको हो, एउटा बैठकमा आफैं उपस्थित हुनुभएन अर्कोमा भने त्यस्तै भयो,’ शाक्यले भने।

शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन सञ्चालन गर्ने र मेडिटेसन गर्न आउनेलाई बस्ने सुविधा सहितको रिसोर्ट संचालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिए।

शाक्यले संसारा वेलनेसले प्रस्ताव गरेको जग्गा मोनाष्ट्रि जोन भित्रको नभई गुरूयोजनामा नै क्याम्पियन ग्राउण्डको लागि छुट्टयाएको क्षेत्र भएकोले सैद्धान्तिक रुपमा मात्रै निर्णय गरिएको उनले बताए। ‘उहाँहरुलाई गुरूयोजना अनुरूपको संरचना निर्माण गर्न दिने भन्ने निर्णय भएको छ, गुरुयोजनाभन्दा बाहिर प्रस्ताव आयो भने स्वीकृत हुँदैन,’ शाक्यले भने।

लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईले क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्टको लागि दिईनसकिएको र प्रस्ताव गरेको कम्पनीको विस्तृत योजना माग गर्ने निर्णय मात्रै गरिएको दावी गरे। ‘सुरज वैद्य आफैं पनि लुम्बिनी विकास कोषको पूर्वउपाध्यक्ष हुनुभएकोले गुरूयोजनाभित्र के राख्ने के नराख्ने भन्ने थाहा होला, त्यहीँ अनुसार प्रस्ताव पनि गर्नुभएको होला तर गुरुयोजना विपरित आउने प्रस्तावमा भने विकास कोषले निर्णय गर्दैन,’ भट्टराईले भने।

भट्टरार्ईले गुरूयोजनामै पिकनिक स्पट र क्याम्प फायरको लागि भनेर क्याम्पियन ग्राउण्ड तोकिएकोले त्यो भन्दा बाहिर गएर जग्गा नदिईने बताए। तर विकास कोषका एक सदस्य भने रिसोर्ट सञ्चालनको लागि मन्त्री आलेको दबाब रहेको दाबी गर्छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]