
काठमाडौं – इतिहास शिरोमणि बाबुराम आचार्यको १३४औँ जन्मजयन्तीको अवसर पारेर हालै ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विचार गोष्ठीमा वक्ताहरूले इतिहास शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि भएको उल्लेख गर्दै उनको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहास शिरोमणि आचार्य भौतिकरूरुपमा नरहे पनि उनका इतिहास सम्बन्धी कालजयी कृतिले सदैव जीवितरूपमा स्मरण गराइरहेको उल्लेख गरे ।
उनले इतिहासविद् आचार्यजस्ता विभूतिलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन गर्ने भनेर नीति आवश्यक रहेको बताउँदै मन्त्रालय त्यसदिशातर्फ अघि बढेको जानकारी गराए । उनले भूगोल र इतिहासलाई जोडेर प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइने बचन दिए । सविच कोइरालाले आचार्यको योगदानको कदरस्वरुप उनको स्मरणलाई जीवन्त तुल्याउन पुरस्कार स्थापनाका साथै अन्य किसिमका कार्यक्रम पनि अघि बढाउन मन्त्रालय सकारात्मक रहेको बताए । प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले कार्यक्रमको विषय प्रवेश गर्दै नेपालको इतिहासलाई प्रमाणिक बनाउन उल्लेख्य भूमिका खेलेको बताए । पूर्वराजदूत एवम् स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले इतिहासशिरोमणि आचार्यलगायतका स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी नेपालका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गरिनुपर्ने बताए ।
‘इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणी आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याएका थिए ।