
काठमाण्डाै – सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले आज काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् ।
सात वर्षसम्म पनि सरकारले राहत रकम उपलब्ध नगराएको भन्दै उनीहरुले तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । सरकारले पीडितको नाममा जम्मा भएको २ करोड २४ लाख रुपैयाँ रकम वितरण गर्न आलटाल गरेको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो ।साविकको राम्चे, धुस्कुन र माङखा गाउँ विकास समितिमा २०७१ साल साउन १७ गते राति पहिरोले क्षति गरेको थियो । पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए । पूर्ण र आंशिक गरी झण्डै तीन सय घर क्षति भएका बलेफी गाउँपालिकाको तथ्याङ्क छ । आज माइतीघरमा सांकेतिक विरोध गरेको र आफ्ना माग पूरा गर्न तीन हप्ताको अल्टिमेटम दिएको गाउँपालिकाका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
वैधानिक उपायहरु धेरै गरेको तर माग सुनुवाइ नभएको उहाँको भनाइ छ । सरकारले जुरे पहिरोे पीडितलाई भूकम्प प्रभावित सरह राहत वितरण गरेको छ । तर पहिरो पीडितका नाममा सङ्कलन भएको चन्दा रकम पाउनुपर्ने पीडितको माग रहेको पनि गाउँपालिकाका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।