
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-३ फूल्चोकी डाँडामा हराइरहेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं कलंकी बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मेलुङ गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।फूल्चोकी डाँडामा घुम्न गएका युवक हराएपछि खबर पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरको प्रहरी टोलीले उनीहरु सकुशल उद्धार गरेको हो ।प्रहरीका अनुसार दुवैजनालाई गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र अवस्थामा फेला परेका हुन् । दुवैजनालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जाडो याममा हिउँ पर्नेभएकोले फूल्चोकीमा आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुन्छ । जंगलमा बाटो बिराइ यसअघि पनि पटक-फटक मानिस हराउने र मृत्युसमेत हुने गरेको छ ।