
झापाको विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्ग पार गर्दै गरेका पैदलयात्रीलाई ना ६ ख १५२० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका विर्तामोड नगरपालिका वडा नं ६ का ३२ वर्षीय सागर मिश्रको विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका क्रममा अपराह्न ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।