
एजेन्सी – नवनियुक्त प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा पहिलो जित दर्ता गर्ने क्रममा लन्डन क्लब चेल्सीले प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलेलाई २–० ले पराजित गरेको छ । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र मार्काेस अलन्सोले गोल गरे ।
घरेलु मैदान स्टामफोर्डमा आइतबार राति भएको खेलमा चेल्सीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । बल पोसेसनमा बलियो पकड राख्दै बर्नलेलाई खेलको सुरुवातदेखि नै दवाव बढाएपनि चेल्सीले पहिलो गोलको लागि ४०औं मिनेट कुर्नुपरेको थियो ।काउन्टर एट्याकमा मासन माउन्टबाट कलुम हड्सन ओडोइ हुँदै आएको पासलाई कप्तान सिजर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि चेल्सीले बर्नले दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।८४औं मिनेटमा मार्काेस अलन्सोले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै चेल्सीको जित पक्का गरे । बर्नलेले पनि गोलका केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सीको यो पहिलो जित हो । प्रशिक्षक टुचेलको पहिलो खेलमा चेल्सीले वल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो ।
यो जितसँगै चेल्सी २१ खेलबाट ३३ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित बर्नले २२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।