२३ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी- आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली श्रमिक लैजाने सम्बन्धमा भोलि (बिहीबार) दुई देशबीच सम्झौता हुने भएको छ ।
इजरायल र नेपाल सरकारबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकलाई केयरगिभर (हेरचाह केन्द्रको सहायक कामदार) पदमा रोजगारीको अवसर दिनेसम्बन्धी कार्यविधिमा सम्झौता हुने भएको हो । इजरायल तथा नेपाल सरकारबीच सम्पन्न इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी व्यवस्थापन गर्ने सम्बन्धमा यसअघि भएको सम्झौताअनुसार २ देशबीच सहकार्य गर्न कार्यविधिमा सम्झौता हुनेछ ।
इजरायलका हेरचाह केन्द्रमा रहेका वृद्धवृद्धा, अशक्त तथा असहाय नागरिकको स्यारसुसारको काम गर्ने गरी सहायक कामदारका रूपमा नेपाली लैजाने सम्बन्धमा सम्झौता हुनेछ । सम्झौताका लागि इजरायल सरकारले तोकेको व्यक्ति वा नेपालस्थित इजरायली राजदूत र वैदेशिक रोजगार विभागका महानिर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गर्ने छन् ।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेका अनुसार सम्झौता दीर्घकालीन वा जटिल चिकित्सास्थिति भएका, शारीरिक वा मानसिक अपांगता भएका इजरायली नागरिक स्यारसुसार गर्न हेरचाह केन्द्रमा नेपालीले रोजगारी पाउने छन् । “यसअघि २ देशको सहकार्यमा तयार भएको ‘इजरायलको लामो अवधिको हेरचाह केन्द्रमा सहायक कामदारसम्बन्धी कार्यान्वयन प्रोटोकल’ लागू हुने छ ।” निर्देशक न्यौपानेले भने, “इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय (पिवा) र नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगार विभागले श्रमिकको भर्ना, छनोट र अन्य काम गर्ने छन् ।” सम्झौताअनुसार इजरायलको रोजगारीको छनोट, भर्ना र अन्य प्रक्रियामा निजी क्षेत्रको संलग्नता नहुने भएको छ ।
सम्झौतापछि केयरगिभरका लागि श्रमिकहरूको भर्नासम्बन्धी कार्यविधि तय गर्न र सो कार्यविधिलाई यो सम्झौताको आधारमा व्याख्या तथा कार्यान्वयन गर्ने बाटो खुल्नेछ । सम्झौतापछि पहिलो चरणमा ५ सय नेपाली युवालाई रोजगारी दिने गरी आवेदन आह्वान गर्ने विभागले जनाएको छ । छनोट कार्यविधिको मस्यौदा तयारी अवस्थामा रहेका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृति दिएपछि माघको अन्त्यबाट रोजगारीका लागि सूचना आह्वान गर्ने योजना रहेको छ ।सहायक कामदारका रूपमा केयरगिभरमा जाने नेपालीले शारीरिक वा मानसिक अपांगता डिमेन्सिया (पागलपन) वा अल्जाइमर रोग भएका व्यक्तिहरूको सेवामा ५ वर्षसम्म काम गर्न पाउने छन् । सहायक कामदारका रूपमा इजरायल जाने नेपालीको मासिक तलब १ लाखदेखि १ लाख २५ हजार रुपैयाँसम्म हुनेछ ।

इजरायलले रोजगारीका अवसरहरूको व्यवस्थापनका लागि विभागलाई माग पठाउने र सोअनुसार आवेदन आह्वान गरिने उल्लेख छ । इजरायलमा रोजगारीका लागि जाने नेपाली चिकित्सकिय रूपमा तन्दुरुस्त, नेपालमा कुनै आपराधिक अभिलेख नभएका र कार्यविवरणको आवश्यकता (स्पेसिफिकेसन) पूरा गरेका योग्य सहायक कामदारलाई मात्र पठाउने उल्लेख छ । इजरायल जाने नेपाली श्रमिकसँग तोकिएको बाहेक गैरकानुनी शुल्क लिन पाइने छैन । इजरायल जाने नेपाली युवाले हवाई टिकट, अभिमुखीकरण शुल्क, श्रम स्वीकृति र कल्याणकारी कोषको रकम भने आपैंm तिर्नुपर्ने छ ।
यसरी इजरायल जाने नेपालीको उमेर २५ देखि ४५ वर्ष, कम्तीमा पनि १.५ मिटर उचाइ र कम्तीमा पनि ४५ केजी तौल हुनुपर्ने छ । रोजगारीमा जाने नेपाली युवाले तोकिएको तालिम प्राप्त संस्थाबाट कम्तीमा पनि तीन महिना अवधिको हेरचाहसम्बन्धी तालिम वा व्यावहारिक नर्सिङ तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुडेनीसम्बन्धी तालिम लिएकोे हुनुपर्नेछ । इजरायलको सम्बन्धित निकाय र लामो अवधिको हेरचाह केन्द्रमा सञ्चार गर्नका लागि अंग्रेजी भाषामा दखल भएको हुनुपर्ने उल्लेख छ ।तीन महिनाको हेरचाहसम्बन्धी तालिम पूरा गरेका आवेदकले कक्षा १२ पास गरेको हुनुपर्ने छ । यसैगरी एसईई तहको माध्यमिक शिक्षा पूरा गरी सरकारले तोकेको सम्बन्धित निकायबाट मान्यता प्राप्त र सुवरिवेक्षण गरिएको संस्थाबाट व्यावहारिक १५ महिनाको नर्सिङ तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुडेनी तालिम लिएको हुनुपर्ने छ ।छनोट भएका नेपाली श्रमिकले रोजगारीका लागि गएपछि इजरायलको स्वास्थ्य मन्त्रालयले तोकेको खोप लगाएपछि मात्र कार्यक्षेत्रमा जान पाउने उल्लेख छ । इजरायलमा यसअघि गैरकानुनी रूपमा बसोबास गरेको, इजरायलमा नै स्थायी रूपमा बसोबास गर्ने वा विगतमा गर्न खोजेको व्यक्ति पनि जान पाउने छैन । यसरी गएका नेपाली श्रमिकले आफ्नो स्वीकृत कार्य अनुमति प्रवेशाज्ञाको अवधि सामान्यतया एक पटकमा १ वर्षका लागि र बढीमा ५ वर्षका लागि प्रवेशाज्ञा रहने छ ।

सहायक कामदारका रूपमा रोजगार गर्नेसम्बन्धी तय गरिएको संख्या (कोटा) को अधीनमा पिवाले विभागलाई नयाँ कोटा थप्न समय–समयमा माग पठाउनेछ । पिवाको अनुरोध प्राप्त गरेको १४ दिनभित्र विभागले आफ्नो नियमित माध्यमको साथै राष्ट्रिय स्तरको दैनिक पत्रिकामार्फत पिवासँग समन्वय गरी प्रस्तुत प्रोटोकल अन्तर्गत इजरायलमा अस्थायी सहायक कामदारको आवदेन आह्वान गर्नेछ । विभागले इजरायलमा प्रस्तानका लागि कामदारलाई प्रवेशाज्ञा निवेदन दर्ता गर्न उचित बजार मूल्यमा हवाई टिकट खरिद गरी यात्राको व्यवस्था गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]