
सप्तरी – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाखाले चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको र वास्तविक नम्बर प्रदेश ३–०२,०१४ प ०३३९ रहेको बताएको छ ।हराएको निवेदनका आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।