१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – दुई साम्यवादी दलको मिलनले सैद्धान्तिक भिन्नता नभए पनि नेताहरूबीचको अहमताले यो स्थिति सिर्जना भएको हो

नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको गुटबीचको अन्तरकलह चरमोत्कर्षमा पुगेको छ। देश महामारीबाट पीडित भएको समयमा जनताको सेवातर्फ ध्यान दिनुको साटो दुई नेताबीच भएको यो जु“घा लडाइँले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ गरेको छ। यो क्रियाकलापले दुईतिहाइको सरकार देशका लागि अफाप भएको गानगुन राजनीतिक नेपथ्यमा गुन्जिरहेको छ।२०१५ सालको निर्वाचनपछि गठन भएको दुईतिहाइको सरकारको भ्रूणहत्या राजा महेन्द्रले गरेका थिए भने अहिले दुईतिहाइनजिकको सरकारको घा“टी रेट्न यसकै शीर्षस्थ नेताहरूले खोजिरहेका छन्। भाइ फुटे गँवार लुटे भनेजस्तो यसैलाई मौका पारेर राजावादीहरू राजतन्त्र पुनरावृत्तिका लागि आन्दोलन गरिरहेका छन्। जनता यस परिदृश्यदेखि वाक्कदिक्क भएर राजनीतिक दल नै वर्तमान परिस्थितिका लागि जिम्मेवार भएको भनिरहेका छन्।राजनीतिक दलको परिकल्पना ग्रिसका दार्शनिक प्लेटो तथा अरस्तुका लेखहरूमा भएको पाइन्छ। तर यसले मूर्तता बेलायतमा सत्रौं शताब्दीमा ह्विग तथा टोरी पार्टीका रूपमा पाएको हो। ह्विग संवैधानिक राजतन्त्रको समर्थन गर्दथे भने टोरी सक्रिय राजतन्त्रमा विश्वास गर्दथे। नेपालमा गणतन्त्र स्थापनाअगाडि यस्तै भूमिका नेपाली कांग्रेस र राप्रपाले बहन गरेका थिए। ह्विग झन्डै ३० वर्षसम्म सत्तामा रह्यो र यस दौरान टोरीले पनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको थियो। तर पछि सत्ताबाट बहिर्गमन भएपछि ह्विग विभिन्न गुटमा विभाजन भयोे। यी गुटमा ग्रिनभिलाइट, बेडफोर्डाइट, रोकिङघामाइट तथा च्याथामाइट प्रमुख थिए।नेपालमा पनि राजनीतिक दलको सुरुवातको केही पछाडि नै गुटउपगुट अस्तित्वमा आएको देखिन्छ। प्रथमतः नेपाली कांग्रेसमा पहिले मातृकाप्रसाद तथा विश्वेश्वरप्रसाद कोइरालाको गुट सक्रिय देखियो। २०४७ सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि गणेशमान सिंह तथा गिरिजाप्रसाद कोइरालाको गुटका बीचमा विमति रह्यो। अन्ततः गणेशमान सिंहको पार्टीबाट नै बहिर्गमन भयो। त्यसपछि भएको गिरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद भट्टराईको टकरावमा भट्टराईले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपरेको थियो। केही समयपछि शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको हानाथापमा कांग्रेस विभाजन भयो। शेरबहादुरले प्रजातान्त्रिक कांग्रेसको स्थापना गरे। पछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि यी दुई पार्टीमा पुनः मिलन भयो। अहिले शेरबहादुर देउवा तथा रामचन्द्र पौडेलको गुटमा तानातानको वातावरण विद्यमान छ।

माओवादीले एक्लै संघीय निर्वाचनमा भाग लिएमा कम स्थान प्राप्त हुने सम्भावना देखेर उसलाई एमाले या कांग्रेससित मिलेर निर्वाचनमा जानु उपयुक्त लाग्यो। सबैले बलेकै आगो ताप्ने न हुन्।
नेपाल कम्युनिस्ट पार्टीमा पनि गुुटउपगुटको शृंखला रही नै रह्यो। यस पार्टीमा विद्यमान भूमिगत क्रियाकलाप र गोपनीयताले गर्दा लेखाजोखा गर्न त्यति सजिलो छैन। यसका संस्थापक पुष्पलाललाई भन्नु नभन्नुसम्म भनियो। २०४७ सालपछिको कुरा गर्ने हो भने चन्द्रप्रकाश मैनालीले अलग भएर माले पार्टी गठन गरे। पछि वामदेव गौतमले पनि पार्टीमा विभाजन गरेर अलग पार्टीको सञ्चालन गरे। फेरि उनी एमाले पार्टीमै समाहित भए। अहिले पूर्वएमाले तथा पूर्वमाओवादी रहेको पार्टी नेकपामा फुट हुने सम्भावना बढेर गएको छ। त्यसैगरी राप्रपामा पनि विभिन्न गुटउपगुटले गर्दा टुट्ने र जोडिने क्रम रही नै रहेको छ।माथि उल्लिखित गुटउपगुटभन्दा नेकपामा देखिएको गुटउपगुट अलिक फरक खालको छ। किनभने पूर्वएमाले र माओवादी विलय हुन खोजेर अहिलेको नेकपा बनेको हो। तर विलय पूर्णरूपमा अहिलेसम्म हुन सकेको छैन। के यो पार्टी फुट्ला या जुट्ला भन्दै विभिन्न अनुमान तथा अड्कल लगाइएको छ। पार्टी विलय भएका उदाहरण धेरै छन्। उपमाका लागि २००३ मा विलय भएको क्यानाडाको कन्जर्भेटिभ पार्टीलाई लिन सकिन्छ। भारतमा सत्तरीको दशकमा विभिन्न पार्टीको विलय भएर जनता पार्टीको स्थापना भएको थियो। जनता पार्टीमा फुट भएर कयौं पार्टी पहिलेकै स्वरूपमा फर्किए। भारतीय जनता पार्टी तीमध्ये एक हो।विलयको मुख्य कारण भनेको यसपश्चात् हुने फाइदाको सम्भावना हो। गत स्थानीय निर्वाचनमा एमालेले प्रथम स्थान प्राप्त गर्‍यो भने कांग्रेसले दोस्रो तथा माओवादीले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। माओवादीले एक्लै संघीय निर्वाचनमा भाग लिएको खण्डमा कम स्थान प्राप्त हुने सम्भावना देखेर उसलाई एमाले या कांग्रेससित मिलेर निर्वाचनमा जानु उपयुक्त लाग्यो। सबैले बलेकै आगो ताप्ने हुनाले ऊ एमालेसित मिलेर गएको हो। अन्ततः संघीय तथा प्रान्तीय सरकारको निर्वाचनमा झन्डै दुईतिहाइ स्थानमा विजय प्राप्त भएको थियो। त्यसैगरी भारतमा आपत्कालको समयमा कांग्रेस पार्टीले ज्यादती गरेको र जनता रुष्ट भएको संकेत पाएर सत्ता प्राप्तिको प्रबल सम्भावना देखिएकाले विभिन्न दल जनता पार्टीका रूपमा जुटेका थिए। नभन्दै कांग्रेसको पराजय भयो र जनता पार्टीले दुईतिहाइ स्थान हासिल गरेको थियो।पार्टी विलय भएर जुटेको र फुटेका उदाहरण युरोपमा प्रशस्त छन्। अस्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, निदरल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया र संयुक्त अधिराज्यमा विलयपछि संयुक्त रूपमा पार्टी रहेका छन् भने बुल्गेरिया, इस्टोनिया, इटाली, ल्यातभिया, लिथुनिया, पोल्यान्ड, स्लोभेनिया तथा स्पेनमा विलयपछि फुटेका घटना पाइन्छ। यस क्रममा फिनल्यान्ड र ग्रिसमा फुट अत्यधिक मात्रामा भएको देखिन्छ। यी पार्टीको जुट तथा फुटबारेमा निकै अनुसन्धान भएको छ। फुटपछि सिंगो पार्टीका रूपमा स्थापित भएर फाइदा हुने सम्भावना भयो भने विलयपछि पार्टी फुट्ने सम्भावना हुन्छ।

प्रधानमन्त्री केपी ओलीले यही सम्भावना देखेर पार्टी विघटनको विधेयक ल्याएका थिए। तर पछि चौतर्फी आलोचना भएपछि यो विधेयक फिर्ता लिइएको थियो। त्यसैगरी धेरै घटकका बीचमा विलय भयो भने पनि विघटनको सम्भावना बढी हुन्छ। जनता पार्टी यसको ज्वलन्त उदाहरण हो। तेस्रो विलयपछि आन्तरिक एकीकरण भयो भने विघटनको सम्भावना कम हुन्छ। एमाले र माओवादीबीच तीन महिनामै एकीकरण गर्ने भने पनि अहिलेसम्म पनि यो काम सम्पन्न नभएकाले विघटन हुने सम्भावना बढी छ।यो परिदृश्य युरोपको हो। हाम्रो भारतसित भौगोलिक, धार्मिक तथा सांस्कृतिक सामीप्य भएकाले जनता पार्टीको उदाहरण बढी उपयुक्त हुन्छ। जनता पार्टी विविध पृष्ठभूमि भएका पार्टीको मिलन भएर बनेको भए पनि सैद्धान्तिक तथा कार्यगत धरातलमा यसले उदाहरणीय मतैक्य प्रदर्शन गरेको थियो। फलतः उनीहरू सत्तामा आएपछि विकेन्द्रीकरण, ग्रामीण उद्योगको स्थापना तथा रोजगारका अवसरको सिर्जनामा सहमत भएका थिए। जनता पार्टी सैद्धान्तिक नभई पार्टी एकाइलाई सबलीकरण गर्न नसकेर र नेताहरूमा विद्यमान अहमताले गर्दा विघटनतर्फ उन्मुख भयो। नेकपामा पनि दुई साम्यवादी दलको मिलन भएकाले सैद्धान्तिक भिन्नता नभए पनि एकीकरण गर्न नसकेर र नेताहरूबीचको अहमताले यो स्थिति सिर्जना भएको हो।यसरी युरोपेली तथा भारती फुटका कारणको विश्लेषण गर्दा नेकपा पनि फुट्ने सम्भावना बढी देखिन्छ। तर यी दुवै परिदृश्यमा बाहिरी देशको हात नगन्य रहेको थियो। किन्तु नेकपाको कुरा गर्दा भारत र चीनले प्रशस्त प्रभाव पार्न सक्ने भएकाले एउटा अर्काे कारक विद्यमान रहेको पाइन्छ। विशेष गरेर चीनले काठमाडौंस्थित नेपालका लागि राजदूतको माध्यमबाट हस्तक्षेप गर्ने गरेकाले पार्टी नफुटे पनि चर्किएको सिसाजस्तै त्यत्तिकै कचल्टिएर बस्ने सम्भावना पनि नभएको होइन। योभन्दा पहिले पनि चिनियाँ राजदूतबाट सञ्जीवनी बुटी पाएर फुट्नबाट बचेको हो।

अहिलेको संकटमा पनि चिनियाँ राजदूत अन्तर्राष्ट्रिय कूटनीतिको ख्याल नराखी सक्रिय भएको चर्चा–परिचर्चा भइरहेको छ। त्यसैगरी राष्ट्रपति तटस्थ रहनुपर्नेमा नेकपाका नेतालाई बेलाबेलामा बोलाएर अनावश्यक अभिरुचि लिएकाले राष्ट्रपतिकोे गरिमामा नै धक्का पुगेको अभिव्यक्त भइरहेको छ। त्यसकारण नेकपामा फुटको सम्भावना बढी भए पनि चिनियाँ कारकले भित्रभित्रै सम्बन्ध विच्छेद भइसके पनि बाहिर सग्लै देखिने कुनै पारम्परिक युगल जोडीजस्तै नेकपा वास्तविक रूपमा टुक्रिएर पनि औपचारिक रूपमा नफुट्न सक्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]