सप्तरी – मुलुक जातीय छूवाछूतमुक्त राष्ट्र घोषणा भएको डेढ दशक हुन लागे पनि सामाजिक परिवर्तन हुन नसक्दा प्रदेश-२ मा छूवाछूत र जातीय विभेदको घटनामा दलित महिलाहरू पिल्सिरहेका छन्।
मंसीर दोस्रो साता बाराको निजगढ नगरपालिका-१० की सुनार थरकी एक महिलालाई छिमेकी एक महिलाले पानीको पाइप छोएको निहुँमा गाली गरिन्। खानेपानीका लागि उनीहरू एउटै धारा प्रयोग गर्थे, त्यस क्रममा दलित महिलाका साना बच्चाले पाइप छोएको कारण गत असारमा पनि उनले तिनै छिमेकी महिलाबाट गाली खानुपरेको थियो।त्यतिबेला वडामा भनेर अब गालीगलौज र विभेद नगर्ने शर्तमा विवाद साम्य भए पनि फेरि त्यस्तै जातीय विभेद दोहोरिएपछि यस पटक घटना प्रहरीसम्म पुग्यो। पीडित महिलाले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि अर्की महिलालाई बोलाएर माफी माग्न लगाउँदै आइन्दा त्यस्तो व्यवहार नगर्ने वाचा गराइएको छ।त्यो घटनामा पीडितका पक्षबाट प्रहरी कार्यालय पुगेकी स्थानीय अधिकारकर्मी अरुणा विश्वकर्माले भनिन्, “गत असारमा वडामा कुरा लगेको भनेर छिमेकी महिलाबाट ज्यानै मार्ने धम्की समेत आएको रहेछ। बच्चाहरूले पानीको पाइप छोएको निहुँमा फेरि गालीगलौज भएपछि प्रहरीमा पुगेर त मिलापत्र भयो, तर फेरि धम्की आयो कि? पीडित महिलासँग मोबाइल छैन, श्रीमान् पनि विदेशमा छन्।”
अधिकारकै क्षेत्रमा काम गरे पनि अरुणालाई समेत विभेदको महसुस ठाउँठाउँमा भएको छ। करीब दुई महीना अघि निजगढ नगरपालिकाको कार्यालयमा एउटा कार्यक्रमका लागि बोलाइएको थियो। उनले कार्यक्रममा बोलाइएको भन्दै कार्यालय सहयोगीलाई आफ्नो परिचय दिइन्। तर, कर्मचारीले कार्यक्रम शुरु भएको छैन भन्दै पर्खिन भने। तर, त्यसको केही बेरमै उनले चिनेको ब्राह्मण थरकी महिलालाई तिनै कर्मचारीले ‘कार्यक्रम भित्र हो’ भन्दै सरासर पठाए। “केहीबेर त फरक कार्यक्रम होला भनेर सोचें, तर होइन रहेछ”, उनी भन्छिन्, “मेरो परिचयकै कारण यस्तो गरिएको भन्ने महसुस भएर दुःख लाग्यो।”अरुको अधिकार र सामाजिक कामका लागि विभिन्न ठाउँमा हिंड्दा यस्तो विभेदको महसुस धेरै ठाउँमा हुने गरेको अरुणाको अनुभव छ।
गत वर्षको छठमा पर्साको वीरगंज महानगरपालिका–१८ स्थित ब्रह्मबाबा मन्दिरमा पूजा गर्न जाँदा दलित समुदाय पिटिए।दलित र गैरदलित सबै जाने मन्दिरमा त्यो दिन दलित समुदायका व्यक्तिहरु अगाडि गएका कारण जनप्रतिनिधि समेत मिलेर कुटेको दलित महिला संघ (फेडो) पर्साकी अध्यक्ष निलाकुमारी रामले बताइन्। उनका अनुसार, कुटपिट गर्नेमा सोही वडाका वडा सदस्य छोटेलाल साह कानु समेत थिए। तर, घटनाबारे पीडितहरुले उजुरी दिएनन्। उनले भनिन्, “उजुरी गर्न पटकपटक भनें, तर छरछिमेकमा भएका ‘ठूलाबडा’ को डरले मुद्दा दर्ता गराउन पीडितहरू हच्किए।”वीरगंज महानगरपालिकाकै वडा नम्बर २३ मा पनि बन्दाबन्दीको बेला गत जेठ अन्तिमतिर छुवाछुतको विषयले कुटपिट भयो। एक टोलमा मानिसहरु बसिरहेको सार्वजनिक ठाउँमा दलित समुदाय आएको निहुँमा विवाद भयो र जुन कुटपिटसम्मै पुग्यो। तर, त्यो घटनामा पनि उजुरी नै गरिएन।बाराको एक गाउँपालिकामा दलित समुदायका केटा र केटी प्रेम विवाह गर्न भागे। दलित परिवारको बसोबास कम रहेको सो ठाउँका गैरदलितहरूले समाज बिग्रिने भन्दै केटा र केटीको परिवारलाई गाउँ निकाला गर्ने निर्णय गरे। पीडित परिवार अधिकारकर्मीहरुको सहयोगमा प्रहरी चौकी पुग्दा प्रहरीले घटना थाहा पाइसकेको रहेछ, तर त्यो मुद्दा अगाडि बढेन। गत असारमा पीडित पक्ष मुद्दाबारे बुझ्न जाँदा निवेदन नै हराएको भन्दै प्रहरीबाट गैरजिम्मेवारपूर्ण अधिव्यक्ति आयो।
प्रदेश-२ मा भएका जातीय विभेद र छूवाछूतका यी प्रतिनिधि घटना हुन्। अधिकांश घटना प्रहरीमा पुग्दैन। मुश्किलले केही घटना पुगे पनि सम्झाउने वा आइन्दा नगर्ने शर्तमा मिलापत्र गरेर पठाइन्छ। घर पुगेपछि प्रहरीमा उजुरी दिएको भन्दै पीडितलाई धम्की आउने गरेको छ।