तिमी छाडेर गएदेखि अहिलेसम्म मैले तानेका चुरोटका ठुटाहरू जोड्ने हो भने तिनै चुरोटका ठुटाहरूमा पाइला टेकेर पुग्न सकिन्छ कोटेश्वरदेखि कर्णालीसम्म ।
तिमी छाडेर गएदेखि अहिलेसम्म मैले पिएका रक्सीका बोतलहरूको चाङ लगाउने हो भने तिनै रक्सीका बोतलहरूलाई भर्याङ बनाएर
पुग्न सकिन्छ सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म ।
तिमी छाडेर गएदेखि अहिलेसम्म मैले फिटेका तासका पत्ताहरूको खात लगाउने हो भने तिनै तासका गड्डीहरूभित्रका राजारानी बिरासित बन्न सक्छ एउटा विशाल तासदरबार ।
तिमीले छाडेर गएदेखि अहिलेसम्म मैले भोगेका यो देशका नेताहरूको भ्रष्ट अनुहार हेर्ने भने तिनै कुरूप अनुहार टेकेर पुग्न सकिन्छ काठमाडौंदेखि दिल्लीसम्म ।
९० सालको नागरिकता बोकेर यही नेपाली माटोमा अहिलेसम्म तिमी फर्कने दिन कुरिरहेको छु तिमी फर्कन्छ्यौ या फर्कन्नौ त्यो त मलाई थाहा छैन। तर, मैले त केबल यत्ति बुझें
तिमी फर्किए पनि नफर्किए पनि मेरो माया पुरानो र यो देश बुढो कहिल्यै हुँदो रहेनछ ।