
काठमाडौं – कप्तान मोइन अलीको अलराउन्ड प्रदर्शनप्रेरित इंग्ल्यान्डले आइतबार बिहान वेस्ट इन्डिजविरुद्धको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ रनको विजय हासिल गरेको छ ।
बारबाडोसस्थित केनसिङ्टन ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डको यो जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २–२ को बराबरी भएको छ । पाँचौँ खेल आउँदो सोमबार हुनेछ ।
इंग्ल्यान्डका कप्तान अलीले २८ बलमा एक चौका र सात छक्कासहित ६३ रन बनाए । ओपनर जेसन रोयले ४२ बलमा पाँच चौका र तीन छक्कासहित ५२ रनको योगदान गरे । जेम्स भिन्सले ३४ रन बनाए । रोए र भिन्सले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गरे ।
वेस्ट इन्डिजका जसन होल्डरले तीन विकेट लिए । रोमारियो शेफर्ड, अकेल होसेन र किरन पोलार्डले समान एक विकेट लिए ।
घरेलु टोली वेस्ट इन्डिजका लागि काइल मायर्सले सबैभन्दा धेरै ४० रन बनाए । होल्डरले ३६ रन जोडे । ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रन बनाउनुबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
इंग्ल्यान्डका कप्तान अलीले दुई विकेट लिए । रिस टोप्ले, एडिल राशिद र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।
यसअघि, पहिलो खेल वेस्ट इन्डिजले ९ विकेटले जितेको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड एक रनले विजयी भएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिज २० रनले विजयी भएको थियो ।