काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को स्टेटस लेख्दै नारी शक्तिको वकालत गरेकी छन् । नारी शक्तिलाई कमजोर नठान्नभन्दै उनले संविधानमा उल्लेखित मौलिक हक र अधिकारको कार्यान्वयन नभएको गुनासो गरेकी छन् । यतिमात्रै होइन उनले नारीलाई सम्मान गर्न सिक्नुपर्नेमा पनि जोड दिएकी छन् ।
समीक्षाले स्टेटसमार्फत नारीलाई कमजोर नठान्न भन्दै उनले पहिलो स्टेट्समा लेखेकी छन्, “यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उसले नारीको शक्तिको सामना गर्न सक्दैन त्यसैले नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।”
गायिका अधिकारीको पछिल्लो समय अभिनेता पल शाहसँग नाम जोडिएको थियो । यस्तो समयमा गायिका समीक्षाको यो स्टेटस कसैप्रति लक्षित त होइन ? तर, समीक्षाले यो स्टेटस कसैलाई लक्षित नभएको बताइन् । यतिमात्रै होइन उनी आफ्नो र पल शाहबीचको पछिल्लो चर्चामा केही बोल्न नचाहेको बताइन् ।
पहिलो स्टेटस राखेको करिब आधा घण्टामा नै अर्को स्टेटस लेख्दै उनी थप्छिन्, “हाम्रो देशमा किन नारी र पुरुषलाई समान अधिकार दिएको छैन । विभिन्न पीडाले बञ्चित भएका नारीहरुले न्याय पाएका खोई ?”, समीक्षा प्रश्न गर्छिन्, “संविधानमा उल्लेखित भएजस्ता मौलिक हक अधिकारहरु कार्यान्वयन भएको खोई ? निर्मला पन्तले न्याय पाएको खोई ? के अब हाम्रो देशका नारीहरु अब यसैगरी बञ्चित भइरहनु पर्छ । अहिलेका हामी नारीहरु कुनै पनि कुरामा पछि हट्ने छैनौं र कसैको दबाबमा आउने छैनौं । नारीको सम्मान गर्न सिकौं ।”