
विराटनगर – प्रदेश १ को भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मालपोत कार्यालय विराटनगरका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
कृषि मन्त्रालयका अधिकांश कर्मचारीहरू आइतबार आइसोलेसनमा बसेका छन्। मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोभिड संक्रमण देखिएपछि कर्मचारीहरू आइसोलेसनमा बसेका हुन्।
मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले सचिवालय लगायतका केही कर्मचारीमा कोभिड देखिएपछि सबैको सुरक्षाका लागि मन्त्रालयका भेटघाटका कार्यक्रम केही दिनका लागि बन्द गरिएको बताए। मन्त्रालयका सचिव तिवारी कोभिडको लक्षण देखिए पनि तालिम, बैठकमा सहभागी हुँदै आएका थिए। तिवारीको रिपोर्ट शनिबार पोजेटिभ आएको बताइएको छ।
मालपोत कार्यालय पनि आइतबारदेखि बन्द गरिएको छ। मालपोत कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए।
अर्को सूचना नगरेसम्मका लागि सेवा बन्द गरिएको उनले बताए। ४१ जना कर्मचारी रहेको मालपोतमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
विराटनगरमा कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। आइतबार विराटनगरमा १३७ जनामा कोरोना संक्रमण देखिएको थियो।