सप्तरी – नागरिकताविहीनले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताविहीन नेपालीले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माइतीघरमा धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा नागरिकताविहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए ।
उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।
‘हामी नागरिकता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर, संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो’ उनले भने ।
अध्यक्ष साहले सरकारले आफ्ना नागरिकलाई अनागरिक रूपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए ।