
बैतडी : डिलासैनीमा एक पसलमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। वडा नम्बर ७ मा स्थानीय गंगा धामीले सञ्चालन गर्दै आएका किराना पसल र होटलमा शनिबार राति आगलागी भएको हो।
आगलागीबाट पाँच लाख रूपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक धामीले बताए। आगजनीबाट पसल पूर्ण रुपमा क्षति पुगेको छ। पसल सञ्चालक गंगा धामीले बिहान ५ बजे ३८ मिनेटसम्म आफू पसलमै रहेको भए पनि त्यसपछि आफू घर गएको बेला पसलमा आगजनी गरिएको बताए।
बिहानै पसलमा आगो लागेको देखे पनि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी कसले आगजनी गरेको हो भन्ने नखुलेको आगजनी गर्ने व्यक्ति वा समूहको खोजी भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षण दर्शन खड्काले जानकारी दिए।