काठाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन फेरि सार्ने तयारी गरिएको छ । शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रदेशसभा निर्वाचनदेखि माथि प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन सक्दा प्रदेश महाधिवेशन तिहारपछि पुग्ने भन्दै केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको हो ।
सहमहामन्त्री डा. प्रकाशरण महतका अनुसार बैठकले चिसो बढ्ने भन्दै हिमाली जिल्लाको अधिवेशन भने जिल्ला तहसम्म दसैँअघि नै सकाउने निर्णय गरेको छ ।“पहिले रामचन्द्र दाइले अहिले नै अधिवेशन गराउनुपर्छ भन्नुभएको थियो । तर, अहिले बाँकी १३ जिल्लाको पनि वडा अधिवेशन सकेर मात्र अरू महाधिवेशन अघि बढाउने भन्नुभएको छ,” पदाधिकारी बैठकपछि डा. महतले भने, “अब प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ पछाडि मात्र हुने भयो । त्यसैले त्योभन्दा माथिको कार्यतालिका पनि प्रभावित हुनसक्छ ।”प्रदेश र केन्द्रीय महाधिवेशन सार्ने तयारी हो ? भन्ने प्रश्नमा डा. महतले सार्ने तयारी नभए पनि समय अभावले प्रभावित हुन सक्ने बताए । “प्रदेश महाधिवेशन त अब तिहारको पछाडि पुग्ने नै भयो,” महतले भने, “केन्द्रीय महाधिवेशन टाढा माघ÷फागुनसम्म त होइन । कति समय आवश्यक पर्छ हेरेर सार्न सकिन्छ ।”
उनले ‘सबै जिल्लाको एकसाथ नगरिए महाधिवेशनको गाडी नगुड्ने’ भन्दै अब १३ जिल्लाको पनि दसैँअघि पालिका तहसम्मको अधिवेशन सकेर प्रदेशसभा निर्वाचन क्षेत्रदेखिको महाधिवेशन एकसाथ गर्ने बताए । १३ जिल्लाको क्रियाशील सदस्यता विवाद भोलि नै टुंगिने उनको दाबी छ ।