काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणपछि भारतले गरेको नाकाबन्दीको सामना गरेको भए पनि राष्ट्रियतासँग कुनै सम्झौता नगरेको बताएका छन्।
संविधान दिवसको अवसरमा एमालेले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधान निर्माणलगत्तै त्यसको कार्यान्वयनका लागि हामीले सरकारको नेतृत्व पायौँ। कति संविधान च्यात्ने र जलाउने जस्ता असहनीय गतिविधि पनि भए। देशमा दिपावली र खुसियाली भएको थियो। तर, यसतर्फ दुखी हुने सानो तत्व पनि भेटियो। त्यसलाई पुल दिएर ०७२ सालमा हामीले नाकाबन्दीको समेत सामान गर्न परेको थियो।’अध्यक्ष ओलीले ०७२ सालको विनाशकारी भूकम्पको पीडामा भारतले गरेको नाकाबन्दी नेपालीहरूले सामना गरेको बताए। संविधान बनाउन नदिने शक्तिहरु निरन्तर हमला गरिरहे पनि असफल भएको टिप्पणी गरे।
ओलीले भने, ‘संविधान बनाउन रोक्नका लागि शारिरिक हमला गरिए। हामीलाई माइकले हानेन कि। त्यही बेलामा संविधान बनायौँ। नाकाबन्दीको बेलामा हामी राष्ट्रियतासँग कुनै सम्झौता नगरी राष्ट्रिय स्वाभिमानलाई झुक्न दिएन। अरूले खुट्टा कमाएको बेलामा नेकपा एमालेले दृढताको साथ अडान राख्यो।’पहिलो निर्वाचनबाट पहिलो संसद् अधिवेशन कालमै रहेको बताए। संविधान जारी भएपछि सरकारमा आएपछि संविधान कार्यान्वयनको जिम्मा आफ्नो काँधमा आएको बताए। संविधान कार्यान्वयन गर्ने, तीन तहका सरकार सञ्चालन गर्ने, र कानुन निर्माण आफूहरूले नै गरेको बताए। विस्तारै संविधानको स्वीकार्यता बढाउदै लगेको उनको भनाइ छ। ओलीले मधेस केन्द्रित दललाई संकेत गर्दै भने, ‘अहिले पनि पनि संविधान मान्दैनौँ, संविधान दिवस मनाउँदैनौँ भनेर विरोध गर्नु जनतालाई धोका दिनु हो। विरोध गर्ने हरेकले संविधानको शपथ खाएका छन्, यस्तो दोहोरो नीति हुँदैन।
संविधानलाई टेकेर शपथ खाने। अझै आफ्नो क्षेत्रकाले बुझ्दैनन् भनेर आफ्नै भाषामा समेत शपथ खाने। अनि विरोध गर्यौँ भनेर नक्कली कुरा गर्ने?’ कालापानी, लिपुलेक, र लिम्पियाधुरा लगायतको भूभाग समेट्नको लागि संविधान संशोधन गरेरै अगाडि बढेको उनको भनाइ छ।