काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले समाजवादजस्तो पार्टी विशेषको विचारलाई संविधानको अंग बनाइएको बताएका छन्।
संविधान दिवसको अवसरमा संविधानबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षताको विवादास्पद र भ्रमपूर्ण स्पष्टीकरण राखिएको बताएका हुन्।‘परम्परागत संस्थालाई निषेध गर्ने प्रयास भएको छ। बहुसंख्यक जनताको भावनाको सम्मान भएको छैन। संविधानसभामा रहेका दलहरूको प्रतिष्ठा र तुष्टीकरणका कारण संविधान भद्दा बन्न पुगेको छ,’ उनले भनेका छन्। कयौं कमी–कमजोरी तथा त्रुटिका बाबजुद अस्थिरता र अराजकतापूर्ण लामो संक्रमणपश्चात देशले संविधान प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने उनले बताएका छन् ।
इमानदार र उदार भावनाले काम गर्ने हो भने संविधान शान्ति, स्थायित्व र समृद्धिको प्रस्थानबिन्दु बन्न सक्ने थापाको भनाइ छ। ‘संविधान जारी भए यताको समयमा जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। त्यसको ठीकविपरीत भ्रष्टाचार, गरिबी, बेरोजगारी, धर्मपरिवर्तन, सर्वसत्तावाद, राष्ट्र विखण्डन र माओवादी विद्रोहको पुनरुत्थानजस्ता चुनौती र समस्या देखापरेका छन्,’ उनले भनेका छन्, ‘यी सबै कारणले गर्दा सरकार, दल र नेता मात्र होइन, समग्र राजनीतिप्रति नै जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा तीव्र गतिले बढिरहेको छ।’लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै गएको भन्दै थापाले विस्तारै सर्वसत्तावादतर्फ देश अग्रसर भइरहेको आभास भएको उल्लेख गरेका छन्। ‘सात सालदेखि हरेक परिवर्तनपछि विजेता शक्तिले सबैलाई सँगै लिएर हिँड्नुको सट्टा आफ्नो वर्चस्व सुरक्षित गर्न अन्य शक्तिमाथि विभेद र निषेध गर्ने कार्य जारी रह्यो।
फलस्वरूप परिवर्तन संस्थागत हुन सकेन,’ उनले भनेका छन्, ‘राजनीतिक परिवर्तनपश्चात जनतालाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउने काम भएन। परिवर्तनको प्रतिफललाई सीमित वर्गले अपहरण गरे। जनताले परिवर्तनमा आफ्नो स्वामित्व र स्वार्थ स्थापित गर्न सकेन। यसैगरी नेपालका हरेक परिवर्तनमा बाह्य शक्तिको व्यापक प्रभाव र भूमिका रह्यो।’संविधानकै परिधिभित्रबाट राजादेखि माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छाडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्तअनुरूप धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र कायम गर्नेतर्फ अब बहस आरम्भ गरिनुपर्ने उनको भनाइ छ ।
‘संविधान जारी गर्ने बेलामा अवरोध सिर्जना गर्ने, संविधानमा आफ्नो स्थान नदेख्ने, संविधान च्यातेर सिमानामा नाकाबन्दी गर्ने सबै देशी, विदेशी शक्ति एक भएर संविधान र व्यवस्था मात्र होइन, देशलाई नै धरापमा पार्न सक्ने खतरा रहन्छ,’ थापाले भनेका छन् ।