नवलपुर – जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले ६ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रमा लिइएको जानकारी दिए । उनका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार, सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमबहादुर सारुलाई नियन्त्रमा लिएको छ । जिल्लामा एकैपटक ठूलो सङ्ख्यामा चोरीका मोटरसाइकल समातिएको यो पहिलो घटना भएको गिरीको भनाइ छ । प्रहरीले बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उनले बताए ।
चोरीका मोटरसाइकलसहित नियन्त्रमा आएका व्यक्तिलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २० को चोरीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल चोरीमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ ।