सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको ह’त्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा न.–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको ह’त्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो । यस्तै ह’त्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका वडा न.–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।
अदालतले राजविराज नगरपालिका वडा न. १५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ । साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, ह’त्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी समेत दिएका थिए ।