काठमाडौं – अपराधी ठहर भएका पाँच सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको प्रशासन गृह स्रोतले जनाएको छ ।मन्त्रालयले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको पनि स्रोतले जनाएको छ ।राष्ट्रपतिबाट स्वीकृती आएपछि आममाफीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् मा प्रस्ताव पेस गर्ने जनाएको छ । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा विभिन्न कसूरमा कैद सजाय पाइ जेलमा रहेकामध्ये चालचलनमा सुधार आएका र ५० प्रतिशत कैद भुक्तान गरेका व्यक्तिको कैद कट्टा गर्न सकिने व्यवस्था गरिएको छ।
तर, उक्त व्यवस्थाअनुसार हुने कैद कैट्टा र कैद सजाय माफीको निर्णय हरेक पटकजसो विवादित बन्दै आएको छ। चालचलनमा सुधार आएको भनेर कैद सजाय माफी पाएका व्यक्ति समेत जेलबाट छुटेपछि पुनस् अपराधिक कार्यमा संलग्न हुने गरेका घटनाहरु समेत देखिने गरेका छन्।