नेपालगञ्ज – बाँकेमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको हो ।
स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले पुष्टि गरेका छन् ।केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका ती व्यक्ति आइतबार साँझदेखि हराएका थिए । उनको सोमबार बिहान साढे सात बजे निकुञ्जभित्र एउटा खुट्टामात्रै भेटिएको वार्डेन साहले जानकारी दिए । पूर्वपश्चिम राजमार्गबाट ५ सय मिटर उत्तरमा निकुञ्ज भित्र ती व्यक्तिको खुट्टा भेटिएको हो । उनको सनाखत हुन सकेको छैन । होटल सञ्चालकहरुले ‘भैया’ भनेर बोलाउने गरेको बताएका छन् ।
वार्डेन साहले केही दिनदेखि त्यस क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन स्थानीय जानकारी गराइरहेका बताए । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ छन् । गाभर क्षेत्रमा दुई दिनअघि मात्रै गाउँमै पसेर बाघले दुईवटा बाख्रा र एउटा बाच्छो मारेको स्थानीयले बताएका छन् ।