काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उक्त पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिँदै प्रतिपक्ष दलको हैसियतमा नै प्रस्तुत हुन लागेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।‘देउवाजीलाई विश्वासको मत दिएको भए पनि संसदमा भने हामी प्रतिपक्षको भूमिका रहने निर्णय लिएका छौँ,’ महतोले भन्नुभयो, ‘देउवा सरकारको गुण र दोषको आधारमा प्रतिपक्षमा बसेर लोसपाले संसदमा भूमिका निभाउने छ ।’
उहाँका अनुसार त्यहीँ अनुसार संसद सचिवालयलाई पनि प्रतिपक्ष दलतर्फको सिट व्यवस्थापन गर्न अनुरोध गरिएको हो । सो माग बमोजिम संसद सचिवालयले पनि लोसपालाई प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।