सर्लाही – सशस्त्र प्रहरीले सर्लाहीको लालबन्दीबाट एक थान पेस्तोलसहित त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार बिहान साढे ५ बजे लालबन्दी नगरपालिका-५ स्थित रेल्वे ट्रयाकबाट हतियार बरामद गरेको हो। गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश न २-०२-००४ प ७७५७ नम्बरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा एक थान कटुवा पेस्तोल र पाँच थान गोली बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद भएको हो। बरामद भएको हतियार र मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।