झापामा पोखरीमा डुबेर तीन जना भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत डिगलबैक मालीटोली बस्ने २२ वर्षीया रबिना देबी दास, २० वर्षीया पुजा कुमारी दास र १८ वर्षीया देविका दास छन् ।
स्थानीय पोखरीमा डुबेर मंगलबार दिउँसो उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । हजुरआमाको वर्ष दिने पुजा गर्ने क्रममा उक्त पोखरीमा डुबेका उनीहरुको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, धनुषाको धनुषाधाम नगरपालिकापा–२ मङ्गलपुर बस्ने चन्देश्वर यादवकी ३ वर्षीया छोरी ऋतिका कुमारी यादवको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित पानी जमेको खेतमा खेल्ने क्रममा डुबेकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।