काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेको छ । शनिबारको कांग्रेस केन्द्रीय समिति बैठकबाट नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो ।
नेपाली कांग्रेसले आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु भन्दै देशमा र पार्टीमा आवधिक निर्वाचन लागु नभए प्रजातन्त्र धरापमा पर्ने बहस गर्दै आएको छ ।तर, शनिबार कांग्रेसले म्याद थपेरै वैधानिकता दिएका भ्रातृ संस्थाहरुमध्ये कोहीको १६ वर्षम्म महाधिवेशन भएको छैन भने कुनैका नौ वर्षसम्म महाधिवेशन हुन सकेको छैन ।नेपाल किसान संघको महाधिवेशन नभएको १६ वर्ष पुगेको छ भने विगत नौ वर्षदेखि नेपाल दलित संघको महाधिवेशन भएको छैन ।
त्यसबाहेक तीन वर्षमा महाधिवेशन गर्ने वैधानिक व्यवस्था गरेको नेपाल तरुण दलको वर्तमान कार्यसमितिले ५ वर्ष पूरा गरेको छ ।२०७३ सालमा पोखरा महाधिवेशन गए पनि महाधिवेशनको चुनावी प्रक्रिया रोकर नेताहरुले भागबण्डामा पाँच पदाधिकारी नियुक्त गरेका थिए ।अध्यक्ष जीतजंग बस्नेतले पटक पटक भन्दा पनि केन्द्रीय नेतृत्वले बाँकी पदाधिकारी तथा सदस्य नियुक्त गरेर कार्यसमितिलाई पूर्णता दिन दिएको छैन ।२०७३ साल भदौमा नेपाल विद्यार्थी संघको महाधिवेशन भएयता अर्को महाधिवेशन हुन सकेको छैन ।
जबकी नेविसंघको विधानमा प्रत्यक दुई वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने, महाधिवेशन हुन नसक्ने विशेष अवस्था भएमा थप छ महिना म्याद थप गर्नुपर्ने र त्यस अवधिमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ ।२०७३ सालमा महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमितिले ७५ भदौमा महाधिवेशन गर्न सकेन ।थप छ महिना कार्यकाल थपियो –तर पनि महाधिवेशन हुन सकेन ।त्यतिबेलासम्म महाधिवेशनका धेरै काम भइसकेको भन्दै महरसहितका पदाधिकारीले महाधिवेशनबाटै नेतृत्व हस्तान्तरणको व्यवस्था गरिदिन नेतृत्वलाई ज्ञापन पत्र बुझाए सार्वजनिक अपिल समेत गरे । तर नेतृत्व तयार भएन र अन्यमा महरले राजीनामा दिए ।
केही महिनाको रिक्ततापछि राजीव ढुंगानाको नेतृत्वमा नेविसंघका पदाधिकारी भागवण्डामा नियुक्त भए । तर, त्यो कार्यसमितिले न पूर्णता पाउन सक्यो न त विद्यार्थीसँग जोडिएर कुनै गतिविधिनै सञ्चालन गर्न सकेको छ । कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामध्ये अहिले नेपाल ट्रेड युनियन कांग्रेसबाहेक कुनै पनि संगठन वैधानिक हैसियतमा छैनन् ।