आजदेखि देशभरका जिल्ला अस्पतालबाट काेराेना खोपकाे प्रमाणीकरण गरिने भएको छ । स्वास्थ्य सेवा विभागले देशभरका सबै जिल्ला अस्पताललाई पत्राचार गरेर खोप प्रमाणीकरणकाे व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
जिल्लामा रहेका ५० शैयाभन्दा माथिको अस्पतालबाटै खोप प्रमाणीकरण गर्न सकिने विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए । अहिले खोप प्रमाणीकरणका लागि काठमाडौंका चार अस्पतालमात्र तोकिएको छ । जसले गर्दा देशभरबाट ती केन्द्रमा खोप प्रमाणीकरण गर्न आउनेको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि जाने नेपालीहरूले खोप प्रमाणीकरण गर्दै आएका छन् । खोप प्रमाणीकरणका लागि देशभरबाट काठमाडौं आउनेको संख्या अत्यधिक हुँदा धेरैको विदेश यात्रा नै रोकिएको छ । यसलाई न्यूनीकरण गर्दै काठमाडौं आउनुपर्ने वाध्यता हटाउन जिल्लास्थित ५० शैयाको सरकारी अस्पतालबाटै खोप प्रमाणीकरण हुन लागेको हो ।
जिल्ला अस्पतालमा कम्तीमा २ जना फोकल पर्सन तोकेर निःशुल्क रूपमा खोप प्रमाणीकरण गर्न विभागले देशभरका स्वास्थ्य कार्यालय तथा सबै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको छ ।