सिन्धुपाल्चोक – शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल पनि बगाएको छ ।
स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७:४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ ।
नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२:४० बजेतिर बाढीले भवन बगाएको जानकारी दिए ।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो । फेरि शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए ।
राति आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।