असार २७ गते दिउँसोदेखि बेपत्ता रहेका गुर्भाकोट नगरपालिका-११ की १९ वर्षीया भीमकला विक र १६ वर्षीया कृष्णा सुनार अझै फेला परेका छैनन् ।
भीमकला घर नजिकै रहेको बोटेचौर बजारमा किनमेलको लागि निस्किएकी थिइन् । कृष्णा भने बाख्रा चराउन गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । कृष्णा र भिमकला दुवै मिल्ने साथी रहेका थिए । उनीहरु दुवै जना हराएपछि परिवारजनले उनीहरुको खोजी कार्य सुरु गरेका थिए । तर, कतै पत्ता लाग्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।परिवारले प्रहरीमा फोटोसहित जोखी गरिदिनका लागि निवेदन दिएका छन् । परिवारले असार ३० गते इलाका प्रहरी कार्यालय छिन्चुमा कल डिटेल तथा खोजी कार्यको लागि अनुरोध गर्दै निवेदन दिए । परिवारले निवेदन दिएको १४ दिन पुग्दा पनि उनीहरुको कुनै पत्ता लागेको छैन । इलाका प्रहरी कार्यालय छिन्चुले साउन ९ गते मात्रै नेपाल टेलिकमबाट कल डिटेल निकालेको छ । प्रहरीका अनुसार ती युवतीको मोबाइल बाँकेको नेपालगञ्जस्थित नेसनल ट्रेडिङको भवन नजिकै अफ भएको पत्ता लागेपछि भारत गएको हुन सक्ने आशंका गरिएको कृष्णाका पुसाई राजन बिकले बताए ।
प्रहरीले खोजी कार्यमा उदासिनता देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रहरीकहाँ खोजी कार्यका लागि जाँदा उल्टै निराश बनाउने गरेको राजनले बताए ।