काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
यसैबीच उनले आज (आइतबार) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेटेका छन्। विप्लवका साथमा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि यादव निवास पुुगेका थिए।
विप्लव यादवलाई भेट्न बिहान ९ बजे उनकै निवास हात्तीवन पुगेका थिए। उनीहबीच करिब एक घन्टा कुराकानी भएको विप्लवकै पार्टीका एक नेताले बताए।
उनीहरुबीच राजनीतिक घटनाक्रम र यसअघि केपी ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको बताइएको छ।
अध्यक्ष यादवले अहिलेको संविधान र व्यवस्थाको रक्षा गर्दै सबै माग यहीँ व्यवस्थाबाट खोजेर जानुपर्नेमा जोड दिएको बताइएको छ।
विप्लवले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेतालगायतलाई भेटिसकेका छन्।