काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु कानुन विपरीत हुने बताएका छन् ।
उनले खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे विदेशमा रहेका नेपालीले सहयोग गर्ने बताएका छन् ।२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सरकारबाट खर्च उपलब्ध नगराइने व्यवस्था रहेको भन्दै नेता थापाले अघिल्लो सरकारको कानुन विपरीत काम गरेको बताएका छन् । ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छु उनले बुधबार फेसबुकमा लेखेका छन् ।
थापाले पूर्वप्रधानमन्त्री खनालको नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान रहेको र पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएकाले उनको कद बढेको बताएका छन् । ‘झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ,’ उनले भनेका छन् । खनालको उपचारको लागि परिवार, स्वजन र उनको पार्टी पङ्क्ति लागिरहेको भन्दै थापाले उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार रहेको उल्लेख गरेका छन् । ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ,’ थापाले भनेका छन् ।
थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएको र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्न नहुने भनी प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।