पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् ।
भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो ।बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढि रहेको छ । चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँगको जुध्नका लागि ठोस कदम चाल्नु पर्ने बताएकी छन् । यस्तै बेल्जियममा बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीले जनजीवन प्रभावित गरेको छ । बाढी आउनुका विभिन्न कारण रहे पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यसलाई गम्भीर र बिनासकारी बनाएको छ ।
औद्योगिक युग सुरु भएयता विश्वको तापक्रम १.२ डिग्री सेल्सियस बढिसकेको छ । कार्बन उत्सर्जन ठूलो मात्रामा कटौति नगरेमा तापक्रम बढ्दै जाने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।