मलगंवा – सर्लाहीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।
बिहीबार दिउँसो सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले यसबारे निर्णय गरेको हो।कोरोना जोखिम कायमै रहेकाले भोलि (शुक्रबार) देखि साउन १५ गतेसम्म निषेधाज्ञा थपिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।यसअघि थपिएको निषेधाज्ञाको अवधि बिहीबार रातिबाट सकिँदै छ। तर निषेधाज्ञा थपिए पनि यसलाई खुकुलो पार्दै लगिने प्रजिअ महतोले बताए।
लामो दूरीका सवारीसाधनबारे भने केन्द्रबाट पत्रआएपछि मात्रै निर्णय लिइने प्रशासनले बताएको छ। जिल्लाभित्र चल्ने सवारी साधन र पसल व्यवसायलाई भने निर्बाध ढंगले संचालन गर्ने दिने निर्णय भएको उनको भनाइ छ।पछिल्ला दिनमा सर्लाहीमा कोरोना संक्रमण केही कम हुँदै गएको छ। हालसम्म जिल्लामा पछिल्लो पटक फैलिएको संक्रमणबाट ८५ जनाको निधन भइसकेको छ। जिल्लामा हाल ३४ जना सक्रिय संक्रमित छन्।
तर निषेधाज्ञा जारी भए पनि जिल्लामा भीडभाड हुने सबै बजार तथा अन्य क्षेत्र विस्तारै खुल्दै गएका छन्। जिल्लावासीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका छन्।