सिरहा – इलाका प्रहरी कार्यालय लहानबाट ग्रिल काटेर थुनुवा फरार भएको घटनामा असईसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ ।
लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका–१ का पशुपति यादव थुनुवा कक्षको झ्यालको ग्रिल काटेर शनिबार बिहान फरार भएका थिए । उक्त घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले डीएसपी सुवास बुढाथोकीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले छानबिनका क्रममा डयुटीमा खटिएका इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक निरीक्षक, एक हबल्दार र एक प्रहरी जवानसहित तीनलाई तत्कालका लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । फरार यादव पक्राउ परेका छैनन् । निलम्बित गरिएका तीनै जनाको नाम खुलाइएको छैन ।