बागलुङ – कोरोनाका सक्रिय संक्रमित २ सयभन्दा कम नभएसम्म निषेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थपेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसपछि जिल्ला प्रशासन कार्यालय बागलुङले २४ असारसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।जिल्लामा कोरोना संक्रमितको संख्या नघटेकाले निषेधाज्ञा लम्ब्याउनु परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । ‘हाल लगाइएका सबै प्रावधान यथावतै राखेर निषेधाज्ञा थपिएको हो’ उनले भने, ‘सहज वातावरण नभएसम्म खोल्दा झन् संक्रमण बढ्ने देखियो ।’अहिले थप भएको समयमा पुरानै सुविधालाई निरन्तरता दिइएको हो । बागलुङ नगरपालिकाले बिहानको बजार खुल्ने समय एक घन्टा थप्न सिफारिस गरे पनि जिल्ला कोभिड संकट व्यवस्थापन समिति र प्रशासनले थप्न नचाहेका हुन् ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीले भने बिहान १० देखि २ बजे खोल्नु पाउनुपर्ने माग गरेका थिए । बिहान ९ बजेदेखि १२ बजेसम्म खोल्दा खाना खाने समय नमिलेको तथा उपभोक्ता र कर्मचारीमा समस्या परेको उनीहरुको भनाइ थियो । निषेधाज्ञाअनुसार बैँक तथा वित्तीय संस्था दैनिक ९ देखि देखि १२ बजेसम्म खुल्नेछन् । निजी सवारी साधन जोरबिजोर चल्न पाउने, रेस्टुराँले होम डेलिभरी गर्न पाउने र अन्य व्यापार व्यवसाय पनि बिहान ७ देखि १२ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको हो ।
अत्यावश्यक सेवाका यातायातका साधन, खाद्यान्न ढुवानी, पानी, दूध र तरकारीको ढुवानी निर्वाध चल्ने पाउने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले बताए ।