
काठमाडौँ – तीन दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।
महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षात्को समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । दुई वर्षका लागि भने पनि विगत १३ वर्षदेखि सिसडोलमा फोहर राख्दै आएकाले अहिले उक्त स्थानमा सहजरूपमा फोहरको व्यवस्थापन गर्न सकिँदैन । विगतमा फोहर राखेर बाँकी रहेका केही थोरै–थोरै ठाउँमा फोहर राखिँदै आएको छ ।
वर्षाको समयमा मात्रै होइन, अन्य समयमा पनि स्थानीयवासीले विभिन्न किसिमका माग राख्दै फोहर व्यवस्थापन कार्यमा अवरोध गर्दै आएका छन् । उपत्यकाको फोहरलाई दीर्घकालीनरूपमै व्यवस्थापन गर्ने गरी केन्द्र सरकारले धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा फोहर व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको छ । निर्माणको कामका लागि तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासम्म सकिएको छन् । गत जेठबाटै पहिलो चरणको निर्माण सकी फोहर व्यवस्थापनको काम गर्ने भने पनि नदीजन्य निर्माण सामग्रीको समस्या भएको भन्दै अहिलेसम्म सुरसार छैन ।अहिले उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ ।
त्यसमा कामपाबाट मात्रै ५०० मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।