काठमाडौं – नेपाली सेनाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको भीषण बाढीका कारण डुबानमा परेका मानिसको हेलिकोप्टबाट उद्धार गर्न थालेको छ ।
हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली बुधवार बिहानै घटनास्थल पुगेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए। बाढीका कारण घर डुबेर छतमा अलपत्र परेका दुई जना युवाको सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार उनीहरु होटलमा बाढी पसेपछि मंगलबार साँझदेखि होटलको छतमा अलपत्र परेका थिए ।चौतारा र काभ्रेको धुलिखेलबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली पनि मेलम्ची पुगेर उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। भीषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार पूरै डुबानमा परेको छ ।
अहिलेसम्म एक जनाको शव भेटिएको प्रजिअ पोखरेलले बताए। इन्द्रावती नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।