
हेटौंडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसको ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई उक्त सामागी सहयोग गरिएको छ ।हस्तान्तरण गर्दै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताइन् ।
उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुमात्रै कोरोना रोगसँगै जन्मिएको भोकसँग लड्न जनताको घरदैलोमा पुगेको बताइन् ।यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्युनिष्ट सरकार आफू र आफ्ना कार्यकर्ता पोष्नमात्रै तल्लिन रहेको आरोप लगाइन्।यस्तै कार्यक्रममा बोल्दै नेता बानियाँले अहिलेको केपी ओली सरकार जनताप्रति पूर्ण उदासिन रहेको बताउँदै सरकारसँग पैसा भएपनि सहयोगको भावना र योजना नभएको आरोप लगाए ।नेता बानियाँले आफूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई पटकपटक जनता रोगले भन्दा भोकले मर्ने भए सहयोग गरौं भन्दा कुनै तत्परता नदेखाएको दावी गरे । प्रदेश सरकार जनताप्रति अनुत्तरदायी भएपछि आफू र आफ्ना सहयोगी मार्फत सहयोग सामाग्री उपलब्ध गराएको उनको भनाइ छ ।
नेता बानियाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको प्रष्ट पारे ।विकट वस्तिका चेपाङ र तामाङ समूदायका विपन्न र गरिव जनताका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध भएको नेता बानियाँले जानकारी दिए ।
यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समेत सहयोग रहेको थियो ।