
गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते बोलाउनका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो ।
गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भएपछि सामाजिक दुरी पालनाका लागि सभागृह हल रोजिएको हो । गत बर्ष पनि संक्रमण बढेको बेला बजेट अधिवेशन पोखरा सभागृहको हलमानै भएको थियो ।प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकको बैठकमा भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै काँग्रेस लगायतका दलहरूको आग्रहमा प्रदेश प्रमुखले वैशाख १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए ।
आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले अधिवेशन डाकिएको हो ।