सप्तरी – जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सप्तरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ ।
सप्तरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सप्तरी क्षेत्रभित्र शनिबार १२ बजे रातिदेखि अर्को सूचना न आएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ । निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसजन सञ्चालन गर्न भनिएको प्रजिअ पोखरेलले बताए ।
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी गर्ने र कुनै स्थानीय तहमा संक्रमण देखिए त्यसलाई सिल गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
जिल्लामा बुधबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको छ ।