काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने प्रशासनले जनाएको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ । अब हुने निषेधाज्ञा कसरी कडाइ गर्ने भन्नेबारे दैनिक छलफल भइरहेको छ । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज पनि छलफल गर्दैछन् । काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिँदै छ । ‘‘२२ गतेसम्म सोही निषेधाज्ञा कायम रहन्छ । २२ गते नै अर्काे बैठक बसी निषेधाज्ञा लम्ब्याउने योजना तय गरेका छाँै । अब निषेधाज्ञा एक सात लम्ब्याउनेबारे कुनै दुविधा छैन,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘‘निषेधाज्ञामा कसरी कडाइ गर्न सकिन्छ भन्नेबारे छलफल गरी निर्णय लिने हो । निषेधाज्ञाको संरचना उस्तै भए पनि त्यसलाई आवश्यक थप कडाइ गर्ने गृहकार्यमा जुटेका छौँ ।”
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा निषेधाज्ञामा कडाइ गर्दा कसैले आदेश उल्लङ्घन गरे त्यसलाई होल्ड नगरी कारबाही गरिने जनाएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाइएको छ । काठमाडौंको निषेधाज्ञा फितलो भएको गुनासो प्रशासनसम्म पुग्दा यसको दबाब प्रहरीलाई परेको छ । सरकारले प्रहरीलाई कडाइ गर्ने भने अनुसार कडाइ गर्दै आएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीका सूचना अधिकारी एसएसपी बसन्त बहादुर कुँवर पहिलेको लकडाउनमा होल्ड गरेर छाडिएको बताउँछन् । ‘‘अहिले हामीले निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने भएका छौँ । यसका लागि राजधानीका सबै प्रहरी वृत्तमा कारबाही रसिद पठाएका छौँ । अबदेखिको निषेधाज्ञामा कारबाही सुरु हुन्छ,” उनले भने । उनले आजसम्म सचेत गराउँदा पनि निषेधाज्ञा उल्लङ्घन गरी घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिए ।
उनले भने, ‘‘सडकमा निषेधाज्ञा उल्लङ्घन गर्न आउँदा अनेकन समस्या लिएर आएका हुन्छन् । हरेक बहानाबाजीको एकएक प्रमाण हेर्दै वास्तविक प्रमाण नभेटिएको खण्डमा कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । यस्तो महामारीमा जनता आफैं सचेत र जिम्मेवार रहन जरुरी छ । भिडभाड र अनावश्यक हिँडडुलकै कारणले कोरोना महामारी भयावह हुन्छ भनि जनता आफैं सचेत रहौँ ।”प्रमुख जिल्ला अधिकारी पराजुली काठमाडौंमा मास्क नलगाउनेलाई जरिबाना गर्न प्रहरीलाई रसिद पठाइसकेको बताउँछन् । उनी काठमाडौंको संक्रमण तीब्र गतिमा बढिरहँदा प्रशासनले थप कडाइ र कारबाहीको प्रक्रिया अगाडि बढाउनु परेको बताउँछन् ।
‘‘हिजो अस्तिकै जस्तो निषेधाज्ञामा भिडभाड गरिरहेने हो भने काठमाडौंमा भयावह अवस्था सिर्जना नहोला भन्न सकिदैन । यसरी दैनिक निषेधाज्ञा उल्लङ्घन गर्दै भिडभाड गर्दै जाने हो भने पहिलो वर्षजस्तै सबै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” पराजुलीले भने ।